Jan 27, 2013


दीर्घकालीन क्षेत्रको प्राथमिकतामा परेन बैंकहरूको लगानी











राष्ट्र बैंकले कृषि र ऊर्जा क्षेत्रमा १० प्रतिशत कर्जा लगानी अनिवार्य गरेपछि बैंक तथा वित्तीय क्षेत्रबाट त्यसमा जाने कर्जा लगानी भने बढ्न थालेको छ ।



'गाडी खरिद कर्जाभन्दा कृषि कर्जा महँगो भयो,' राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाको भनाइ हो यो । कृषि विकास बैंकको वाषिर्कोत्सव अवसरमा गभर्नर खतिवडाले बैंकहरूले कर्जा लगानीप्रति व्यंग्य गर्दै दिएको अभिव्यक्तिले नेपालका बैंकको कर्जा प्रवाह स्थिति झल्काउँछ । मुख्य रूपमा कृषि विकासका लागि स्थापना गरिएको कृषि विकास बैंकले समेत गाडी खरिद कर्जामा प्राथमिकता दिएको छ भने अरू बैंकको अवस्था कस्तो होला । छोटो अवधिमा मुनाफा कमाउने क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकता दिएका बैंकहरूले अहिले पनि दीर्घकालीन प्रकृतिका लगानीका क्षेत्रमा कर्जा प्रवाह गर्न चासो देखाएका छैनन् । बैंकले मुनाफा कमाउनुपर्ने भएकाले नाफा हुने क्षेत्रमा लगानी गर्नु सामान्य हो । तर, विगतमा छिटो मुनाफा कमाउन घरजग्गामा गरिएको अन्धाधुन्ध लगानीले बैंकहरूको वित्तीय अवस्थामा जोखिम निम्त्याएको थियो । घरजग्गामा अधिक लगानी गरेको असर बैंक तथा वित्तीय संस्थाले अहिले पनि व्यहोर्दै आएका छन् ।
हाल सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकले पुसको पहिलो सातासम्म ९ खर्ब निक्षेप संकलन गरी ६ खर्ब ९० अर्ब कर्जा लगानी गरेका छन् । कर्जा निक्षेप अनुपात ७६.६६ बिन्दुमा पुगे पनि बैंकका लगानी क्षेत्र दीर्घकालीन प्रकृतिका देखिएका छैनन् । राष्ट्र बैंकको नियमअनुसार बैंकहरूको कर्जा निक्षेप अनुपात ८० प्रतिशतभन्दा बढी हुनुहुँदैन । नियमअनुसार पाउने रकम कर्जा लगानी गरे पनि बैंकहरूले गरेको लगानी दीर्घकालीन लाभका क्षेत्रमा बढेको छैन । गतवर्षको तुलनामा कर्जा लगानी बढे पनि दीर्घकालीन क्षेत्रमा लगानी नभएको नेपाल बंैकर्स संघका पूर्वअध्यक्ष सशिन जोशी बताउँछन् । 'राजनीतिक स्थायित्व नभएकाले दीर्घकालीन प्रकृतिका क्षेत्रमा लगानी गर्ने लगानीकर्ता आएका छैनन्,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका जोशी भन्छन्, 'लगानीकर्ता नआएसम्म बैंकले चाहेर मात्र लगानी हुन सक्दैन । बैंकले माग भएका क्षेत्रमा लगानी गर्ने हो ।'
राजनीतिक स्थायित्व नहुनु, ऊर्जा संकटलगायत कारणबाट लगानीकर्ता दीर्घकालीन प्रकृतिका उद्योगमा लगानी गर्ने पक्षमा देखिएका छैनन् । भएको लगानीसमेत बन्द गर्नुपर्ने स्थिति आएको अवस्थामा उत्पादनमूलक क्षेत्रमा हालको अवस्थामा लगानी हुन नसक्ने उद्योग वाणिज्य महासंघमा आबद्ध एक व्यवसायी बताउँछन् । 'महँगो लागत तथा लगानीमैत्री वातावरण अभावका कारण अहिले नयाँ लगानी आउने सम्भावना छैन,' उनी भन्छन्, 'राजनीतिक वातावरण नभएको तथा केही राजनीतिक दलहरूको आर्थिक नीति प्रस्ट नभएको हुँदा लगानी वातावरण नबनेको हो ।'
उत्पादनमूलक क्षेत्रमा लगानीकर्ता नआएपछि बैंकहरूले चाहेर पनि लगानी गर्न सक्ने अवस्था हुँदैन । तर, विगतमा अनुत्पादक मानिएको घरजग्गा क्षेत्रमा भएको अत्यधिक लगानीको असर भोगेका बैंकले त्यसबाट पाठ सिकेका छन् । छोटो अवधिको मुनाफामा बैंक केन्दि्रत रहँदा हुने जोखिम भोगिरहेकाले अहिले आफैँ उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चाहे पनि लगानीकर्ता नआएपछि बैंकहरूले लगानी गर्न सकेका छैनन् । बैंकहरूले चाहेर मात्र दीर्घकालीन उद्योगका क्षेत्रमा लगानी नहुने उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे बताउँछन् । 'हालको स्थितिमा उद्योगीले दीर्घकालीन उद्योगमा लगानी गर्ने सम्भावना छैन,' सिटिजन बैंक अध्यक्षसमेत रहेका पाण्डे भन्छन्, 'लगानीका लागि मुख्य कुरा लगानीमैत्री वातावरण हुनुपर्‍यो, त्यो नहुँदासम्म लगानी हुने अवस्था आउँदैन सक्दैन ।'
बैंकहरूले ग्राहक मागका आधारमा सम्भावनायुक्त क्षेत्रमा लगानी गर्ने कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई बताउँछन् । 'बैंकहरूले माग आएका आधारमा कर्जा प्रवाह गर्छन्,' उनी भन्छन्, 'लगानीकर्ता आएनन् भने बैंकले केही गर्न सक्दैनन् ।'

आश लाग्दा संकेत

राष्ट्र बैंकले कृषि र ऊर्जा क्षेत्रमा १० प्रतिशत कर्जा लगानी अनिवार्य गरेपछि बैंक तथा वित्तीय क्षेत्रबाट त्यसमा जाने कर्जा लगानी भने बढ्न थालेको छ । राष्ट्र बैंकले लिएको नीतिपछि अहिले बैंकहरूको कृषि क्षेत्रमा लगानी बढेको हो । राष्ट्र बैंकले कृषि क्षेत्रमा अनिवार्य लगानी नीति लिएपछि बिमा समितिले पनि बाली तथा पशुपक्षी बिमा निर्जीवन बिमा कम्पनीलाई अनिवार्य गराएपछि त्यसमा गरिने लगानी सुरक्षित हुने देखिएको छ । अहिले दीर्घकालीन प्रकृतिका लगानीका रूपमा ऊर्जामा बैंकहरूको लगानी रहेको एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशी बताउँछन् । राष्ट्र बैंकले ऊर्जा क्षेत्रमा पुनर्कर्जा सुविधा दिएको छ । पर्याप्त मात्रामा सुविधा नभए पनि यसले जलविद्युत्मा लगानी गर्न चाहनेलाई केही राहत मिलेको छ । 'अहिले बैंकहरूले नयाँ क्षेत्रका रूपमा जलविद्युत् परियोजनामा लगानी गरेका छन्,' जोशी भन्छन्, 'त्यसबाहेक विपन्न वर्ग कर्जा तथा केही उद्योगमा बैंकको लगानी बढेको छ ।'
राष्ट्र बैंकको तथ्यांकमा चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म औद्योगिक उत्पादन क्षेत्रमा जाने कर्जा १६ अर्ब १९ करोड बढेको छ । राष्ट्र बैंकले कृषि क्षेत्रमा कर्जा अनिवार्य गरेपछि मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ९१ करोडले कर्जा प्रवाह बढाएका छन् ।
नेपाल पूर्वाधार निर्माण कम्पनी काठमाडौं-हेटौडा सुरुङमार्ग निर्माणको तयारीमा लागेपछि बैंक तथा वित्तीय संस्थालाई पूर्वाधार निर्माणमा समेत कर्जा दिन सक्ने वातावरण सिर्जना हुँदै छ । मुलुकको विकासमा महत्त्वपूर्ण मानिने पूर्वाधार विकास नहुँदा नेपाली उत्पादनको लागत महँगो भई प्रतिस्पर्धा गर्न कठिन हुँदै आएको छ । पूर्वाधार बैंक तथा वित्तीय संस्थाका लागि लगानी गर्ने नयाँ क्षेत्र हुन थालेको कमर्ज एन्ड ट्रस्टका सिइओ भट्टराई बताउँछन् । 'विकासका लागि पूर्वाधार निर्माण महत्त्वपूर्ण हुन्छ,' भट्टराई भन्छन्, 'भारतले पूर्वाधारमा विगतमा गरेको लगानीअनुसार अहिले आर्थिक विकासमा फड्को मारेको छ ।'
तर, बैंक तथा वित्तीय संस्थाले निर्माण तथा पूर्वाधार क्षेत्रमा गरेको लगानी भने उत्साहजनक छैन । मंसिर मसान्तसम्म पूर्वाधार क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी बढाएका छन् । हाल मुलुकमा पूर्वाधार विकासका लागि लगानी सम्भावनायुक्त धेरै छन् । बैंकहरूले सिमेन्ट उद्योगमा गरेको लगानी पनि दीर्घकालीन रूपमा राम्रो क्षेत्रको रूपमा देखिएको छ । अहिलेको अवस्थामा बैंकहरूले पर्यटन, उत्पादनमूलक, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना अझ बढी देखिएको छ ।
आशीष ज्ञवाली

source- Naya Patrika

No comments:

Post a Comment