Jan 28, 2013


सुन्तला खेतीबाट धानिएको गाउँ







'कोदो रोप्दा मुस्किलले तीन महिना खान पुग्थ्यो,'  अन्न लगाउन छाडेर सुन्तला लगाएपछि  हरेक किसानले न्यूनतम १ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउँछन्।


दिलीप पौडेल, बाग्लुङ, माघ १६ - पाखोबारीमा खाद्यान्न लगाउन छाडेर सुन्तला खेती सुरु गरेका जिल्लाको दमेक -२ र ४का किसान सुन्तला खेतीबाट आत्मनिर्भर बनेका छन्। त्यहाँका हरेक किसानले न्यूनतम १ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउँछन्। सय किसानले सुन्तला खेती गरेका छन्। घरपरिवार पाल्न मुस्किल भएर भारत पुगेर फर्किएपछि सुन्तला खेती सुरु गरेका दमेक-२ का खामबहादुर खत्रीलार्ई अहिले घरपरिवार पाल्न कुनै चिन्ता छैन। 'कोदो रोप्दा मुस्किलले तीन महिना खान पुग्थ्यो,' खत्रीले भने, 'अहिले छोराछोरी पढाउन र परिवार पाल्न हाइसञ्चो छ।' २४ रोपनी जग्गामा सुन्तला रोपेका खत्रीको सुन्तला बगानमा पाँच सय सुन्तलाका बोटबाट वार्षिक करिब चार लाख रुपैयाँ आम्दानी गर्छन्। भारतको गुहावटीमा सुन्तला बगानमा काम गरेर फर्केका क्षेत्रीले करिब डेढ दशक अगाडि सुरु गरेको पेसाबाट भरपुर कमाइ भएपछि अन्य किसानले पनि मकै कोदो रोप्न छाडेर सुन्तला लगाएका छन्। आफूलाई घरायसी प्रयोजनका लागि छेउछाउमा सुन्तला रोप्ने यहाँका किसानले खाद्यान्न बालीबाट सुन्तला खेती सुरु गरेपछि जीवनस्तर परिवर्तन भएको छ।खत्रीमात्र होइन सोही ठाउँका राजु सापकोटाले पनि आफ्नो मुख्य पेसा सुन्तला खेती बताएका छन्। 'कोदो मकै लगाउँदा खेतलाको लगानी उठान पनि हम्मे पथ्यो,' सापकोटाले भने, 'अन्न लगाउन छाडेर सुन्तला लगाएपछि राम्रै आम्दानी भएको छ।'किसानले उत्पादनलाई बजारसम्म पुर्याोउन र व्यवस्थापन गर्न समूहसमेत गठन गरेका छन्। जनचेतना सुन्तला कृषक समूह गठन गरी बजार खोज्ने काम सुरु गरेका छन्। यहाँ उत्पादन भएको सुन्तला समुहमार्फत स्थानीय बजार कुश्मिशेरा, पोखरा, बागलुङ, कुश्मा लगायत क्षेत्रमा बिक्री हुने गरेको छ। मोटरबाटो गाउँमै पुगेपछि बजार व्यवस्थापनमा सजिलो भएको अर्का किसान लीलाधर सापकोटाले बताए।'गाउँमै गाडी आउन थालेपछि बजारमा सुन्तला पठाउन कुनै समस्या छैन,' सापकोटाले भने। केही किसानले आफ्नै लगानीमा सुन्तला भण्डारणका लागि कोल्ड स्टोरसमेत निर्माण गरेका छन्। कोल्ड स्टोरमा राखेपछि बेमौसममा बेच्न पाइने भएकाले सजिलो हुने किसान बताउँछन्। सानो परिणामको कोल्ड स्टोर भएकाले धेरै भण्डारण गर्न सक्ने कोल्ड स्टोरका लागि जिल्ला कृषि कार्यालयमा समेत माग गरेको किसानले बताए। किसानको मेहनतले आसपासका क्षेत्रमा समेत सुन्तला खेतीतर्फ आकर्षण बढ्दै गएको कृषि सेवा केन्द्रका प्राविधिक अर्जुन श्रेष्ठले बताए। 'आम्दानी हुन थालेपछि किसानहरु सुन्तलातर्फ आकर्षित हुनेक्रम बढेको छ,' श्रेष्ठले भने, 'सुन्तला लगाउनभन्दा नमान्ने किसान अहिले आफंै बिरुवा खोज्न आउँछन्।' कृषि कार्यालयले पनि दमेक गाविसलाई सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको जनाएको छ।

source-Nagariknews

No comments:

Post a Comment