ठूलाखेतकी औषधि आमा
कास्कीको ठूलाखेत घाँटीछिनाकी गौरी पराजुली (५२) महीना दिन बिराएर पोखरा बजार र्झ्छिन्, झोलाभरि विभिन्न किसिमका धुलो र झोल जडीबुटी लिएर। उनले गाउँमै मोबाइल फोनमा टिपेका रोग अनुसार जडीबुटी संकलन र तयारी गर्छिन्। २५ वर्षदेखिको यो कामले उनको नामै 'औषधि आमा' बन्न पुगेको छ। “पहिला जाँतोमा पिंधेर औषधि तयार गर्थें”, गौरी अर्थात् औषधि आमा भन्छिन्, “अहिले मिसिन नचलाई पुग्दैन।” लुम्लेकाँडेका साहिला वैद्यबाट यो विद्या सिकेकी गौरी पहिले संकलित जडीबुटी वैद्यकैमा लैजान्थिन्। पछि औषधि बनाउन र मात्रा तोक्न सक्ने भएपछि आफैं बेच्न थालिन्। उनी वन–वन चहार्दै कम्मरी, गाईखुरे, कुरिलो, हर्रो, बर्रो, बडहर, सेतो गिदरी, पदमचाल, कुरिलो, कोइरालो, मालती, खयर, घोडताप्रे आदि जडीबुटी संकलन गरेर पायल्स, युरिक एसिड, सुगर, पिनास, कब्जियत, रक्तचाप, दम, हाड जोड्ने, पाठेघर सम्बन्धी रोग आदि निको पार्ने औषधि बनाउँछिन्। १३२ थरीका जडीबुटी चलाइरहेको उनले बताइन्। १० सन्तानकी आमा गौरीका बाँचेका दुई छोरा र तीन छोरीले पनि आमाको कामको सिको गरेका छन्। जडीबुटी कारोबारबाट घरव्यवहार राम्रै चलेको छ। “सबभन्दा सन्तोष त”, औषधि आमा भन्छिन्, “धेरैको रोग निको भएको छ, बिरामीलाई बिसेक भएको सुन्दा धेरै आनन्द लाग्छ।”
source-Himalkhabar patrika
source-Himalkhabar patrika

No comments:
Post a Comment