Jan 29, 2013


कोदो, फापर र भाङबाट बेकरी









'परम्परागत प्रयोगबाट यस्ता खाद्यान्नको व्यावसायीकरण नभएकाले हामीले अनुसन्धान गरी आधुनिक प्रयोग विधी पत्ता लगाएको '
 काठमाडौं, माघ १ (नागरिक) - पहाडी र दुर्गम क्षेत्रमा उत्पादन हुने एवं कम प्रचलनमा रहेका विभिन्न ११ थरी खाद्यान्न र कन्दमुलबाट आधुनिक परिकार बनाउने विधि तयार भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता खाद्यान्न र कन्दमुलबाट आधुनिक परिकार बनाउने विधि विकास गरेको हो। विभागले कोदो, मकै, फापर, सिमी, भटमास, भाङ, तिल, फिलिङ्गे, कोइराला, तित्री र सिस्नोबाट आधुनिक परिकार बनाउने विधि विकास गरेको हो।
विभागले कोदो, मकै, फापर, भटमास, भाङ र तिललाई विभिन्नखाले बेकरी उत्पादनमा प्रयोग गर्ने विधि र मात्रा तयार गरेको हो। केक, कुकिज, डोनट, पाउरोटीलगायत उत्पादनमा सन्तुलितरुपमा यी खाद्यान्नको पिठोलाई प्रयोग गर्न सकिने विभागले जनाएको छ।
'परम्परागत प्रयोगबाट यस्ता खाद्यान्नको व्यावसायीकरण नभएकाले हामीले अनुसन्धान गरी आधुनिक प्रयोग विधी पत्ता लगाएका हौं,' विभागका प्रवक्ता प्रमोद कोइरालालले भने, 'यसले पौष्टिक तत्व बढी भए पनि कम प्रयोगमा आएका यस्ता खाद्यान्नको व्यावसायीकरणमा सहयोग गर्नेछ।'
विभागले तयार गरेको विधि र मात्राबारे यस्ता खाद्यान्न प्रयोग गरेर उद्योग चलाउन चाहनेलाई निःशुल्क तालिमसमेत दिने उनले जानकारी दिए। 'प्रविधि हस्तान्तरण गर्न तालिम दिने गरेका छौं,' उनले भने। विभागले गरेको परीक्षणबाट मैदामा कोदो, फापर, भटमास र भाङको ३० प्रतिशत पिठो मिसाएर विभिन्नखाले बेकरी बनाउन सकिन्छ। यी खाद्यान्नको पिठो मैदामा ३० प्रतिशतभन्दा बढी मिसाए भने बेकरी सामग्री नफुल्ने विभागले तयार गरेको मापदण्डमा उल्लेख छ। यसैगरी मकैको पिठो भने मैदामा २० प्रतिशतमात्र मिसाउनु पर्ने मापदण्ड बनाइएको छ। यी खाद्यान्नको प्रयोग गरी सन्तुलित पिठो बनाउने विधि पनि विभागले विकास गरेको छ। यस्तो पिठो बनाउँदा भने भटमास र गहँुको पिठो पनि मात्रा मिलाएर मिसाउनु पर्नेछ।
परम्परागत घरेलु मदिरा बनाउने प्रविधिलाई परिस्कृत गरी कोदोको बियर र ह्स्विकी उत्पादन गर्न सकिने विभागले जनाएको छ। यसैगरी विभागले फापरको पिठोबाट सिन्ने चाउचाउ बनाउने विधिको विकास गरेको छ। सिन्के चाउचाउका लागि मैदामा २० प्रतिशत फापरको पिठो मिसाउन सकिन्छ।
विभागले सिमीको स्यान्क्स, दालमोठ, सन्तुलित पिठो र किनेमा बनाउने विधि विकास गरेको छ। सिमीको दालमोठलाई तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने र पौष्टिक तत्व पनि बढी हुने विभागको परीक्षणबाट प्रमाणित भएको छ। तिललाई भने बोक्रा निकालेर वा ननिकाली बेकरी उत्पादनको माथिल्लो सतहमा टाँसेर प्रयोग गर्न सकिने विभागले जनाएको छ।
परम्परागतरुपमा अचारका लागि प्रयोग हुँदै आएको पहाडी वनस्पति कोइरालोको सुकुटी बनाउने विधि विभागले तयार गरेको छ। यसैगरी तित्रीको जुस, स्क्वास, धुलो र जाम एवं सिन्नोको सुप र पेय बनाउने विधि पनि विकास भएको कोइरालाले जानकारी दिए। विभागले एक वर्ष लगाएर यी खाद्यान्न र कन्दमुलमा रहेको पौष्टिक तत्वबारे परीक्षण गरेको थियो। परीक्षणपश्चात पौष्टिक तत्वको मात्रा मिलाएर आधुनिक परिकार बनाउने विधि विकास गरेको हो।

Source-Nagariknews

No comments:

Post a Comment