Jan 29, 2013

मन्त्रालयको प्रगति अब अनलाइनमै







प्रत्येक महिनाको ५ गतेभित्र प्रगति तयार गरी पोर्टलमा राख्न अनिवार्य गरिएको कार्यालयले जनाएको छ ।


विभिन्न मन्त्रालयले गर्दै आएका काम कारबाहीको मूल्यांकन अब अनलाइनबाटै हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको शासकीय सुधारसम्बन्धी एक सय ९८ बुँदे सरकारी कार्ययोजनाको प्रगति अनलाइनबाट गर्दै पद्धति तयार पारिएको हो । 

सोमबार विभिन्न मन्त्रालय र केन्द्रीय स्तरका निकायका सह-सचिव र उपसचिवका लागि प्रशिक्षण दिई अनलाइन मूल्यांकन सुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सो पोर्टल तयारीपछि सबै सरकारी कार्यक्रम कम्प्युटरमा प्रविष्ट भएको कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जानकारी दिए । 
सम्बन्धित मन्त्रालयले आ-आफ्नो कार्ययोजना कम्प्युटरमा प्रविष्ट गर्ने र त्यसको आधारमा ती मन्त्रालयले सम्पादन गर्नुपर्ने बुँदाका क्रियाकलाप र सहायक क्रियाकलाप तयार गरी कम्प्युटरमा डाटा इन्ट्री गर्नुपर्ने व्ण्यवस्था गरिएको छ । सो पद्धति सुरु भएसँगै सबै मन्त्रालयले मासिक लक्ष्य पनि निर्धारण गर्नुपर्ने र प्रत्येक महिनाको ५ गतेभित्र प्रगति तयार गरी पोर्टलमा राख्न अनिवार्य गरिएको कार्यालयले जनाएको छ । 
पोर्टलको सम्बन्धित मन्त्रालयका सचिवले अनुगमन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रगति पठाउनेछन् । यस्तो प्रगति सम्बन्धित मन्त्रीले हेर्न मिल्ने सुविधा पनि मिलाइएको सचिव बाँस्कोटाले जानकारी दिए । राष्ट्रिय स्तरमा तयार हुने एकीकृत प्रगति विवरण भने प्रधानमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिवले मात्रै हेर्न पाउनेछन् । तीनैजना पदाधिकारीले प्रगति हेरी उचित निर्देशन कम्प्युटरबाटै दिन सक्ने तथा उनीहरूको कार्यकक्षमा रहने मनिटरमा मासिक प्रगति विवरण हेर्न सकिने प्रणालीको विकास गरिएको कार्यालयले जनाएको छ ।
सचिव तथा सहसचिवलाई दिइएको प्रशिक्षणमा सचिव बाँस्कोटाले १९८ बुँदे कार्य योजनाको काम सम्पादन गरी प्रत्येक महिनाको प्रगति कम्प्युटरमा प्रविष्ट गर्न, मन्त्रालयको साख उच्च रहने गरी काम गर्न र आमजनतामा विकासको प्रतिफल प्राप्त भएको अनुभूति दिने गरी काम गर्न आग्रह गरेका थिए ।

source-Naya Patrika

No comments:

Post a Comment