Jan 31, 2013




सडक सुधारपछि होटल खोल्ने क्रम बढ्यो


                                                  





सडकको सुधारसँगै सरकारी तथा गैरसरकारी निकायका उच्च ओहोदाका अधिकारी जिल्ला आउन थालेपछि यहाँका व्यवसायीले सदरमुकाममा ठूला होटल सञ्चालन गर्न थालेका हुन् ।
बझाङ, माघ १७ - सडक कालोपत्रे हुन थालेपछि बझाङ सदरमुकाम चैनपुरमा सुविधा सम्पन्न होटल खुल्न थालेका छन् ।  सदरमुकाममै सरकारी तथा गैरसरकारी कार्यालयका गोष्ठी, सेमिनारलगायत कार्यक्रम सञ्चालन हुन थालेपछि होटलको संख्या वृद्धि हुँदै गएको हो । 

केही वर्षअघि बैतडीको खोडपेदेखि सदरमुकाम चैनपुरसम्म १ सय ८ किलोमिटर कच्ची सडक भएकाले वर्षमा तीन/चार महिनामात्र  यातायातका साधन चल्ने गरेका थिए । आवतजावतमा समस्या हुने भएकाले ठूला कार्यक्रम जिल्लाबाहिर हुने गर्थे । एक वर्षअघि  खोडपेदेखि बागथलासम्म पक्की सडक निर्माण भयो । बागथलादेखि सदरमुकाम चैनपुरसम्मको ४६ किलोमिटर सडक विश्व बैंकको ऋण सहयोगमा कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन प्रमुख वेदकण्ठ युगलका अनुसार चैत मसान्तसम्म पक्की गर्ने काम सकिने छ ।
सडकको सुधारसँगै सरकारी तथा गैरसरकारी निकायका उच्च ओहोदाका अधिकारी जिल्ला आउन थालेपछि यहाँका व्यवसायीले सदरमुकाममा ठूला होटल सञ्चालन गर्न थालेका हुन् । अहिले सन्तोष प्लाजा, माउन्टेन भ्यु, कालिपक्षाई, पानारोमालगायत  ७ वटा होटल सञ्चालनमा आइसकेका छन् । अरू आधा दर्जन होटल सञ्चालनको तयारीमा रहेका छन् ।
माउन्ट भ्युका सञ्चालक भूमि धामीले सडक सुधार भएपछि सुविधा खोज्ने ग्राहकको संख्या निकै बढेको बताए । उनले आफ्नो होटलमा तालिम हलसहित सुविधाको विस्तार गरिरहेको जानकारी दिए ।  'यसअघि सुविधा खोज्ने ग्राहक आउँदैनथे,' उनले भने, 'सडकको सुधारसँगै जिल्ला बाहिरका मान्छे आउन थालेपछि सुविधा खोज्ने बढेका छन् ।'
'केही वर्षसम्म सदरमुकाम चैनपुरमा एक होटलमा खाना खाएर अर्को होटलमा सुत्न जानुपर्ने अवस्था थियो,' उद्योग वाणिज्य संघका अध्यक्ष ओमजंगबहादुर सिंहले भने, 'नयाँ सञ्चालनमा आएका होटलले सबै प्रकारको सुविधा दिएका छन् ।' उनले सडकसँगै व्यापार, व्यवसायलगायत विकास निर्माणका काममा ठूलो परिवर्तन हुन थालेको बताए ।

source-ekantipur

No comments:

Post a Comment