बारा डुमरवानामा रहेको ‘नेचुरल रिसोर्स इन्डष्ट्रिज प्रालि’ ले बेसारको पात र जराबाट तेल उत्पादन शुरू गरेको छ । परीक्षणको रूपमा यो वर्ष १०० लिटर उत्पादन गरेर जर्मनी निर्यात गरिएको तेल होमियोप्याथिक औषधिका लागि उपयुक्त मानिन्छ । उद्योगका कृषि (जडीबुटी) विस्तार अधिकृत अजयकुमार जयसवाल अरू जडीबुटीबाट उद्योगले पहिलेदेखि तेल निकालेको भए पनि बेसारको पात र जराबाट पहिलो पटक निकालेको बताउँछन् ।
तरकारीमा राखिने प्रमुख मसलामध्येको एक बेसार श्रृंगार र औषधिमा पनि प्रयोग हुँदै आएको छ । यसलाई ‘एन्टिबायोटिक’ का रूपमा चोटपटक र घाउ निको बनाउन पनि प्रयोग गरिन्छ । गत पुस र माघमा ‘इलम हेल्भेटास’ को सहयोगमा गरिएको अनुसन्धानले बेसारको तेल राम्रो हुने देखाएपछि उत्पादन गरिएको र आउँदो वर्ष पनि राम्रो तेल उत्पादन हुने जयसवालले बताए । बेसारबाट तेल निकाल्न थालिएपछि बाराका किसानले बेसार खेती बढाएका छन् । गत वर्ष उद्योगले बेसारको तेलबाट डेढ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यो उद्योगले लेमनग्रास, सिट्रोनेला, पामारोजा, फ्रेन्च बेसिल (बाबरी), मेन्था, बोझे र केमोनाइलबाट पनि तेल उत्पादन गर्छ । यी जडीबुटी बेचेर बाराका १०० किसानले वार्षिक रु.५० लाख आम्दानी लिन्छन् । २०६६ मा रु.२ करोड लागतमा स्थापना भएको यो उद्योगले सबै प्रकारका जडीबुटीबाट निस्किने तेल जर्मनी र यूरोपका अन्य मुलुकमा निर्यात गर्छ । जयसवालका अनुसार उद्योगले अहिलेसम्म रु.१ करोडको तेल निर्यात गरेको छ ।
तेल निकाल्दा निस्किने जडीबुटीको छोक्रालाई उद्योगले जडीबुटी उमाल्न बाल्ने इन्धन बनाउने गरेको छ भने तेल निकालेपछि बाँकी रहने बेसारको पातको छोक्रालाई कम्पोष्ट मल बनाउने गरेको छ ।
इलम हेल्भेटासका टीम लीडर सन्दिप पौडेल आगामी वर्ष कैलाली, कन्चनपुर, बाँके, बर्दिया, सर्लाही र रौतहटमा पनि बेसारबाट तेल बनाउन सकिने मशीन जडान गर्ने योजना रहेको बताउँछन् । सर्लाहीमा सामुदायिक वनका उपभोक्ताले घरेलु प्रविधि प्रयोग गरी बेसारको पातबाट तेल निकाल्न थालेको बताउँदै पौडेल भन्छन्, “कृषिमा आधारित यस्ता उद्योगलाई सरकार र निजीक्षेत्रले सहयोग गर्नुपर्छ ।”
source-Himal Khabar
No comments:
Post a Comment