Sep 20, 2013

अदुवा निर्यात साढे तीन गुणाले बढ्यो


काठमाडौ, आश्विन ४ - तुलनात्मक लाभको वस्तुको रूपमा प्रवर्द्धन भइरहेको अदुवाको निर्यात झन्डै साढे तीन गुणाले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०६९/२०७० मा करिब १ अर्ब ३१ करोड १६ लाख रुपैयाँको अदुवा निर्यात भएको हो । यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ३८ गुणा बढी हो । आर्थिक वर्ष २०६८/६९ मा करिब ३८ करोड ६९ लाख रुपैयाँको अदुवा निर्यात भएको थियो ।

अदुवाको माग भारतमा अत्यधिक बढेकाले निर्यात बढेको सम्बद्ध अधिकारीहरू बताउँछन् । गत वर्ष भाउ नपाएर ऋणमा डुबेका किसानले यसपालि राहत पाएका छन् । 'भारतमा अदुवाको उत्पादन घटेकाले यहाँको निर्यात बढेको छ,' वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रवि भट्टराईले भने । अन्तर्राष्ट्रिय बजारमा अदुवा उपभोग गर्ने संख्या बढेकाले पनि माग बढेको उनले बताए ।
अदुवाको मुख्य बजार भारत हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार करिब ६० भन्दा बढी अदुवा भारत निर्यात हुन्छ । 'बाँक चीन, पाकिस्तान, बंगलादेश, अरबियन मुलुकतर्फ  निर्यात भएको छ,' केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले भने । केन्द्रका अनुसार अहिले नेपाल अदुवा उत्पादनमा विश्वको चौथो स्थानमा छ । अन्य मुलुकको उत्पादनभन्दा स्वदेशी उत्पादन गुणस्तरयुक्त भएकाले निर्यातको माग बढेको हो ।
नेपाली अदुवा औषधिका रूपमा समेत प्रयोग गरिएकाले माग बढ्दै गएको केन्द्रले जनाएको छ । 'अदुवा माथिल्ल्ाो दर्जामा पर्छ । यसको बजारमा पनि बर्सेनि बढ्दै गएको छ,' घिमिरेले भने, 'यसले गर्दा निर्यात बढेको हो ।' अदुवा तुलनात्मक लाभको वस्तुका रूपमा समेत प्रवर्द्धन भएकाले व्यापार नीतिका आधारमा धेरै प्रभाव परेको उनले बताए ।
भारतीय व्यवसायीले नेपाली अदुवा खरिद गरेर पाउडर, मसला बनाएर तेस्रो मुलुकमा निर्यात गर्छन् । यो इलाम, पाँचथर, काभ्रेपलान्चोक, पाल्पा, नव्ालपरासी, तनहुँ, कास्की, दाङ, सल्यान, प्यूठानलगायत जिल्लामा उत्पादन हुन्छ ।
अदुवा दुई प्रकारका हुन्छन् । एउटा रेसायुक्त र अर्को रेसारहित । केन्द्रका अनुसार अन्तर्राष्ट्रिय बजारमा दुवै प्रकारको माग अत्यधिक छ । अदुवाको विकास गर्न क्षेत्रगत रूपमा छुट्याएर बढ्न सके कृषकलाई राहत मिल्ने घिमिरेले बताए । 'अदुवाको आन्तरिक र बाहिरी बजारमा माग अधिक छ,' उनले भने, 'तर मुलुकमा प्याकेजिङ स्टिमको अभाव छ ।' उनका अनुसार अहिले निर्यात भएको अदुवा कच्चा पदार्थका रूपमा निर्यात हुन्छ ।
नेपाली अदुवा विदेशमा लगेर फेरि प्रसोधन गरेर अन्य मुलुकतर्फ नियार्त हुन्छ ।  'मुलुकमा अदुवा संकलन एवं प्रशोधान केन्द्रको स्थापना गर्न सके निर्यात थप बढ्न सक्छ,' उनले भने, 'सरकारले यसको जिम्मेवारी लिनुपर्छ ।' यस्तै बजार पहिचान र बजार विस्तारमा वाणिज्य मन्त्रालयले पनि पहल गर्नुपर्ने उनको भनाइ छ ।
मसला उत्पादनमा भारत विश्वकै ठूलो बजार भएकाले अदुवाको निर्यात बढेको हो । भारतमा अदुवा उत्पादनमा कमी हुने बित्तिकै स्वदेशी अदुवाको माग बढ्ने व्यवसायीको भनाइ छ । अदुवा सबै मसलामा प्रयोग हुने भएकाले स्वदेशमा उत्पादित अदुवाको माग बढ्दै गएको कार्यकारी निर्देशक घिमिरेले बताए । अदुवा जाममा समेत प्रयोग गरिन्छ ।
व्यवसायीले चैत-वैशाखमा लगाएको माउ अदुवालाई असारसाउनमै निकालेर बेच्ने गर्छन् । यस्तै मन्त्रालयले सरकार निजी क्षेत्रको सहकार्यमा अदुवाको सुरक्षित भण्डार कार्यक्रम सञ्चालन गरिने जनाइसकेको छ । सुरक्षित भण्डारणका लागि ५८ लाख रुपैयाँ विनियोजित गरिएको छ ।


source-ekantipur

No comments:

Post a Comment