१५ करोड लगानीमा दूध प्रशोधन उद्योग
काठमाडौं, माघ १४ (नागरिक) - कर्माचार्य ग्रुपले १५ करोड लगानीमा दूध प्रशोधन उद्योग स्थापना गरेको छ। पोखरामा स्थापित ग्रुपले भक्तपुरको जगातेमा दूधको प्लान्ट लगाइसकेको छ। कन्ट्री फुड प्राइभेट लिमिटेडको नाममा उसले उद्योग स्थापना गरेको हो।
'हामीले अत्याधुनिक प्लान्ट ल्याएर जडान गरिसकेका छौं। दुई महिनाभित्रै दूध बजारमा ल्याउनेछौं,' ग्रुपका सञ्चालक विक्रम कर्माचार्यले शनिबार नागरिकसँग भने, 'उपत्यकावासीले गुणस्तरीय दूध पिउन पाउनेछन्।' विक्रमबाहेक उद्योगका सञ्चालकमा माइकल कर्माचार्य, गोविन्द श्रेष्ठ, सन्तोष श्रेष्ठ, विकल कर्माचार्य छन्। उद्योगले दूधबाहेक दही र घिउ लगायत दुग्धजन्य पदार्थ बजारमा ल्याउनेछ। ४५ वर्ष पुरानो यो समूहले पोखरामा समेत दूध प्रशोधन उद्योग छ। यही ग्रुपअन्तर्गतको फिस्टेल डेरीले नोभा ब्रान्डको दूध बजारमा बिक्री वितरण गर्दै आइरहेको छ। उपत्यकामा राम्रो बजार देखेर ग्रुपले दूध प्रशोधन उद्योग लगाएको हो। उपत्यकामा समेत ग्रुपले नोभा ब्रान्डकै दूध बजारमा ल्याउनेछ। ब्रान्डको नाम भने टुंगोमा नपुगेको कर्माचार्य बताउँछन्। 'हामीले ८० प्रतिशत नोभा ब्रान्ड नै ल्याउने तयारीमा छौ,' उनले भने, 'सञ्चालकहरुको सहमतिमा ब्रान्ड नामलाई टुंगोमा पुग्नेछौं।' यो ग्रुपले उपत्यकामा उद्योग लगाउनुअघि बजार सर्वेक्षण गरेको थियो। त्यही सर्वेक्षणका आधारमा उपत्यकाको मागअनुसार दूध नपाएकाले उद्योग स्थापनाको टुंगोमा पुगेको उनले बताए। 'हामीले काठमाडौं उपत्यका राम्रो बजार रहेको देखेर उद्योग लगाएका हौं। यहाँ साढे तीन लाख लिटर दूधको माग छ,' उनले भने, 'त्यसैले यो बजारलाई हेरेर उद्योग स्थापना गरेका छौं।' फिलट्रोन इन्जिनियरिङ पुनाबाट ल्याएको प्लान्ट उद्योगमा स्थापना भइसकेको छ। दूध प्रशोधन उद्योगमा यो कम्पनीको प्लान्टहरु बढी चल्तीमा छन्। कर्माचार्यले गुणस्तरीय दूध बजारमा ल्याउने उद्देश्य राखेको बताउँदै उपभोक्ताले रुचाउने दाबी गरे। 'उपत्यकामा दूध उद्योगको प्रतिस्पर्धा चर्को छ। तर हामी उपभोक्तालाई ध्यान दिएर दूधका उत्पादन बजारमा ल्याउनेछांै,' उनले भने, 'राम्रो भएपछि उपभोक्ताको विश्वास जित्न गाह्रो हुँदैन।' उद्योगले चितवन, काभ्रे, सर्लाही लगायत क्षेत्रबाट कच्चा दूध संकलन गर्नेछ। कर्माचार्यले ग्रुपअन्तर्गत कर्माचार्य इन्टरनेसनल, कर्माचार्य होल्डिङ, गण्डकी आयल मिल लगायत दर्जनभन्दा बढी उद्योग र कम्पनी छन्। गण्डकी आयल मिलले कोसेली ब्रान्डको चर्चित तेल उत्पादन गर्दै आएको छ। दूध उद्योग ल्याउनुअघि समूहले कन्फेसनरी उद्योग स्थापना गरिसकेको छ। कन्ट्री कन्फेसनरी प्राइभेट लिमिटेडको उत्पादनहरु बजारमा आइसकेको छ। यसले कन्ट्री वेफर लगायत बजारमा ल्याएको हो। पाँच करोडको लगानीमा स्थापना भएको यो उद्योगमा दूधबाट उत्पादन हुने चकलेटहरु बजारमा ल्याउने उनले बताए। यसअघि पोखराकै सुजल डेरीले समेत उपत्यकामा दूध बिक्री वितरण गरिसकेको छ। सुजलले उपत्यका उद्योग स्थापना नगरी अन्य उद्योगमा प्रशोधन गरेर दूध बजारमा ल्याइरहेको छ। भक्तपुरमा रहेको मोर्डन डेरीमा दूध प्रशोधन गरेर सुजलले सफल ब्रान्डको दूध बजारमा ल्याएको हो ।
source-Nagariknews

No comments:
Post a Comment