कपिलवस्तुमा टिपीएस (True Potato Seed) प्रबिधिबाट आलु उत्पादन गर्ने प्रबिधि लोकप्रीय बन्दै गएको छ। यस प्रबिधिबाट कृषकहरुले मनग्य आम्दानी गर्न थाले पछि जिल्लामा बियाँबाट आलु खेती गर्ने टीपीएस प्रबिधि लोकप्रीय बन्दै गएको छ। कम लागतमा बढी उत्पादन हुने भएकाले कपिलवस्तुका कृषकहरु टीपीएस प्रविधिबाट आलु खेती गर्न अग्रसर भएका छन्। राम्रो आम्दानी पाउने भएकाले उनीहरु यो प्रबिधिबाट आलु खेती गर्न अग्रसर भएका हुन्। बढी फाईदाका कारण यो प्रबिधिबाट आलु खेती गर्ने कृषकहरुमा लहर नै चलेको छ। खर्च पनि कम लाग्ने र कृषि कार्यालयबाट अनुदानमा बीउ पाईने भए पछि हरेक बर्ष यो प्रबिधिबाट आलु खेती गर्ने कृषकको संख्या बढदै गएको जिल्ला कृषि बिकास कार्यालयले जनएको छ। यो प्रबिधिबाट उमारिएको आलुको बीउको माग समेत बढदै गएको छ। यो प्रबिधि बारे जानकारी लिन कृषि कार्यालयमा दिनहु कृषकहरु आईरहेकाले समेत यो प्रभावकारी हुदै गएको छ।
आफूले यो प्रबिधीबाट तीन बर्ष खेती शुरु गरेको भन्दै निग्लिहवा गाबिस पचेहराका कृषक रामबृक्ष केवटले यसबाट हरेक बर्ष ५० हजार रुपैया आम्दानी गर्ने गरेको बताउनुभयो। गत साल ५ कठ्ठामा टीपीएस प्रबिधिबाट लगाएको आलुबाट २० क्विन्टल आलुको बीउ उत्पादन गरेको बताउदै यो आफ्नो लागि बरदान नै साबित भएको भन्नुहुन्छ। यो प्रबिधिद्धारा उत्पादित प्रथम पुस्तको बीउ प्रति केजी १५० रुपैया सम्म बिक्री गरेको उहाँले बताउनुभयो।
यस बर्ष कृषि कार्यालयले ५० प्रतिशत अनुदानको २ केजी सो प्रबिधिको बीउ बितरण गरेको छ। पाँच ग्रामका दरले २ सय कृषकलाई बीउ प्रदान गरिएको कृषि कार्यालयले जनाएको छ। एक बिघा खेतका लागि सय ग्राम बीउ प्रयाप्त हुने र यसबाट अन्य बीउ भन्दा दोब्बर उत्पादन हुने कृषि प्राबिधिकहरु बताउछन्। यो प्रबिधिको आलुको बीउका लागि कम खर्च लाग्ने, खेतमा कीरा नलाग्ने, भण्डारण र बीउ उत्पादनमा सजिलो तथा मीठो र स्वादिलो हुने भएकाले यो प्रबिधि कृषकहरु माझ लोकप्रीय बनेको कृषि प्राबिधिक बताउछन्।
यस प्रबिधिमा आलुको बियाँलाई नर्सरी ब्याडमा नै स– साना बीउ आलुका दाना उत्पादन गरी पुनः आलुका बीउका लागि बिक्री गर्न सकिन्छ भने खेतीका लागि तयार गरिएको जग्गामा सीधै बीउ रोपी आलु उत्पादन गर्न सकिन्छ।
बिशेषतः सोझै रोपेर आलु उत्पादन गर्ने भन्दा ब्याडबाट आलुको स–साना दाना उत्पादन गरी पुनः बीउका रुपमा प्रयोग गर्ने गरी आलुको उत्पादन गर्ने प्रचलन रहेको कृषि कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले बताउनुभयो। गत बर्ष यो प्रबिधिबाट एक हेक्टरमा ४२ मेट्रिक र एक कठ्ठामा १४ क्विन्टल सम्म आलु उत्पादन भएको प्रमुख खाँले जानकारी दिनुभयो। यो प्रबिधिबाट जिल्लामा ७० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ।
Rajendra Devkota

No comments:
Post a Comment